Sunday, August 18, 2019

बिश्वास, अबिश्वास र अन्धबिश्वास



नेपालमा आजको समयमा पनि धेरै ठाउँहरुमा महिलाहरु 'यो बोक्सी हो' भन्ने लान्छना बाट मुक्ति पाउन नसकेको कुरा हामी विभिन्न संचार माध्यमहरुमा बेला बेलामा पढ्ने गर्छौ. कति महिलाहरु त्यस्तो लान्छनाबाट लामो समय सम्म मानसिक रुपमा पिडित हुने गर्छन भने कतिलाई त हामी जुत्ताको माला लगाई गाँउ डुलाएको खबर फोटो सहित सामाजिक संजालहरुमा देखने गर्छौ. केहि बर्ष अघि मात्र बिबिसीको टेलिभिजन कार्यक्रम साझा सवालमा तराइ तिर बस्ने केहि महिलाहरु 'यो बोक्सी हो' भन्ने लान्छना बाट कति हद सम्म पिडित भएका छन् भन्ने कुरा हेर्न र बुझ्न पाएका थियौ. हामी जंग बहादुरको जमानामा छैनौ जुनबेलामा बोक्सीको आरोपमा समाजले मात्रै होइन कानुनले पनि बिश्वास गर्थ्यो. अरोपितले त्यसै अनुसारको सजाय भोग्नु पर्थ्यो.


अझै पनि बत्ति निभेको बेला केटीहरु / महिलाहरु जम्मा भएर रातिको खाना पछि गर्ने कुरा प्राय भुतप्रेत वा बोक्सीको कथाहरुनै हुन्छ. केहि बर्ष अघि जब सधै राती बत्ति जाने गर्थ्यो केटीहरु समुहमा बसेर भुत, बोक्सी र चुडैलको कथाहरु सुन्ने र सुनाउने गर्थे. आज सोनुले आफ्नो स्कूल जीवनमा घटेको घटना सुनाउदै भनिन. उनको घर नजिकै एउटी बुढी आम्मै बस्थिन जो उनीहरुको घरमा मासु पाक्दा, सधै कुनै न कुनै बहानामा छिर्ने गर्थ्यीं. एकदिन सोनुको ठुलो बुवाले जब उनी मासु खाएर बाहिर निस्के त्यसपछि चुलो नजिककै भएको रातो चिम्टाले नजिककै सुतिरहेको बिरालोको ढाडमा डामिदियो.  त्यसपछि त्यो बुढी आमा धेरै महिना सम्म निक्कै थला परिन र कहिँ हिड्न डुल्न पनि सकिनन्. हाम्रो घरमा पनि आउन छोडिन, सोनुले त्यो घटना सम्झदै सुनाए. उनी बिराटनगर बाट काठमाडौँ आएर, यही पढी रहेका छन् र उनी मास्टर्समा पढ्दै गरेको बिद्यार्थी हुन्.


मलाई केहि सोध्न र भन्न मन लागेको मन थियो तर सोनुले जसरी कुरा गरिन यसबाट विचार गर्न सकिन्थ्यो कि उनलाई त्यो घटनामा कति बिश्वास छ भनेर. तर मलाई भने बिरालोको ढाडमा डामे पछि बुढी आमै बिरामी भएको कुरामा अलिकत्ति पनि बिश्वास लागेन. चाहे त्यो मैले आफ्नै आँखाले देखेको, मेरै घरमा भएको भन्ने मान्छे सोनु जत्तिकै नजिक बसेर किन कुरा नगरोस. मैले नदेखे सम्म म बिश्वास गर्दै गर्दिन भनेर हठ गरेको होइन. म सानो हुदा यसरी भुत संग तर्सिने बोक्सीको कुरामा बिश्वास गर्ने अनि चुडैल को कथामा रमाउने केटीहरु संग धेरै संगत गरेको छु. कसैलाई भुत संग तर्सिनको लागि अध्यारो नै काफी हुन्छ भने कोहि चाही अध्यारोमा भुत संग जम्काभेट नभए सम्म भुत छ भन्ने कुरामा बिश्वास गर्दैनन्. तपाई मलाई दोस्रो बर्गमा राख्न सक्नु हुन्छ. बिरालोको ढाडमा डामे पछि बुढी आमै बिरामी भएको कुरा त केराको बोटमा आँप फलेको अनि हाम्ले टिपेर खाएको भन्ने कपोलकल्पित कहानी जत्तिकै सत्य छ. तरै पनि मलाइ आफ्नो विचार सोनु को विचार संग बझाउन ठिक लागेन त्यसैले उनको कुरा चित्त नबुझे पनि म चुप  लागेर बसे. तर्क गरेर आफ्नो कुरा माथि पार्नेमा पनि म बिश्वास नगर्नेमा परे. यो कुनै कुरामा बिश्वास वा अबिश्वासको कुरा हो. भुत काल्पनिक सत्य हो. भूतको कथामा रमाउनु कल्पनाको दुनियामा हराउनु हो. कसैलाई त्यस्तो सपनाको संसारमा रमाउन मन पर्छ होला तर म चाही सत्यको धरातल नै रुचाउछु.

कुराको क्रममा सोनुले के पनि सुनाइन भने उनको मामाहरु यहाँ [काठमाडौँ ] बिदेशी संघ सस्थामा बैज्ञानिक तहको अनुसन्धानात्मक काम गर्छन अनि आमा भने बिरामीको लागि धामी झाँक्रीको मा जान्छन. के गर्नु डाक्टरको औषधि ले छुदै छोएन. फेरी थप्दै भनिन यदी मामाहरुले आमा झाँक्रीकोमा उपचारको लागि गएको कुरा थाहा पाए भने गाली गर्नु हुन्छ.  सोनुको आमा र मामा को सोचको बिन्नाताले उनको हजुबुवाहरुले छोरा र छोरी लाइ पढाउने बेला गरेको विभेद मात्रै उजागर गर्दैन कि कसरी कलेज जानु र नजानुले मानिसको सोचमाअन्तर ल्याउछ भन्ने कुरा पनि प्रस्ट पार्छ. याद राख्नुस सोनु त आफै मास्टर्सको बिद्यार्थी हो तर पनि किन उसको सोच आमा पट्टि गयो त ?


अफ्रिकी समाजमा भुडू को प्रयोग व्यापक हुन्छ. यो केहि हद सम्म इंडियामा प्रयोग गरिने कालो जादु जस्तै हो. यसको प्रयोग मानिसहरुलाई मनोबैज्ञानिक रुपमा सताउनको लागि गरिन्छ. फरक के हो भने भुडूमा कुनै मानिसलाई खराब गर्ने पर्यो भने त्यो काम त्यही मानिसको सानो पुतला बनाएर अनि त्यो सानो पुतलालाइ रोप्दा, घोच्दा, थाचार्दा, जलौदा ति सबको असर पुतालालाइ नभई त्यो कसको पुतला हो त्यस ब्यक्तिलाइ असर गर्छ भन्ने कुरामा अफ्रिकीहरु बिश्वास गर्छन. तर इंडियामा कसैलाई बलि चढाउन पर्यो भने उनीहरु सिधै नै जुन मानिसको, वा बच्चाको कुरा गरेको हो त्यसैलाई नै सिधै बलि चढाई दिन्छन. तर यो त एउटा मात्र त्यस्तो घटना हो. भारत मा प्रयोग गर्ने कालो जादुको बारेमा कुरा गर्न एउटा किताबले मात्र पुग्दैन होला.


अमेरिकामा केहि कलेज पढेका युवाहरु सडकमा जादु देखाउने काम गर्छन. उनीहरु आफ्नो जादुमा बिज्ञानको मिश्रण गर्ने काममा माहिर छन्. दर्शकहरु तिनीहरुको जादु हेरेपछि छक्कै पर्छन. त्यस्ता केहि युवाहरु आफ्नो जादुमा भुडूमा प्रयोग गरिने बिधिलाइ अपनाउछन्. त्यसरी कालो जादुमा अपनाउने बिधिमा बिज्ञान र जादुको मिश्रण गरेर दर्शकहरुलाई चकित बनाएका थिए. तर यदी तपाइले विज्ञानको केहि आधारभूत कुराहरु बुझ्नु भयो भने यो बुझ्न सकिन्छ कि बिज्ञानमा थोर्रै मात्र ज्ञान मिसाउनु भयो भने धेरैको लागि त्यो जादुमा परिणत हुन्छ तर के अफ्रिकीहरुले मानसिक र शारिरिक हानिको लागि प्रयोग गर्ने गरेको भुडू बिधिको प्रचलनमा पनि थोरै मनोविज्ञान को गलत प्रयोजन भएको छैन र ? मानसिक रुपमा दरिलो मानिसहरुलाइ त त्यसले फरक नपार्ला तर कमजोर   मानसिकता भएको मानिसहरुलाई भने यसले नकारात्मक हिसाबले प्रभाब पार्ने कुरा मा दुइ राय छैन.


तपाईले अमेरिकीहरुले बनाएको टेलिभिजन कार्यक्रम घोस्ट हन्टर [ भुतको खोजीमा ] हेर्नु भएको हुनुपर्छ. बाह्र बर्ष भन्दा बढी चलेको यो कार्यक्रम कुनै समयमा अति लोकप्रिय कार्यक्रम थियो. यो कार्यक्रमको संचालकहरु हावामा भूतको कुरामा बिश्वास गर्ने होइन कि, बरु हो कि होइन भनेर प्रमाणित भए पछि मात्र यही हो भनेर किटानको साथ भन्ने गर्थे. यो संस्थाले गर्ने प्रयोग गर्ने औजारहरु र प्रमाणीकरण मा त्यहाको सैनिक संस्थाको समेत ठुलो बिश्वास थियो. त्यसैले एकचोटी उनीहरुले आफ्नो तर्साउने ब्यारेकको बारेमा बुझ्नको लागि भूतको खोजीमा लागेका टेलिभिजनको त्यही टीमलाई निम्त्याएका थिए. त्यो तर्साउने ब्यारेक बनेको ठाँउमा दोस्रो विश्व युद्ध ताका केहि मानिसहरु मारिएको थियो. उनीहरुले आफ्नो जांच राति एघार बजे पछि शुरु गरे र अध्यारो मा त्यहा के के हुदो रहेछ भनेर हेरे. त्यसबेला उनीहरुले आफ्नो अनुसन्धानात्मक कार्य रात को दुइ बजे सम्म गरेका थिए. त्यस टिममा भाग लिने एकजना अध्यारोमा भएको हर्कत बाट तर्सिएको आवाज आएपनि त्यहाँ केहि पनि देख्ने नसकिने गरि अध्यारो थियो. त्यो लामो अन्धकार करिडोर भएको ठुलो घर, जुन जमिन मुनि थियो भित्र निक्कै नै डर लाग्दो किसिमको बातावरण थियो. त्यो हेर्दा त्यहाँ भएको एउटा ठुलो शक्ति जसलाई देख्न त सकिदैन थियो तर महसुस भने सजिलै गर्न सकिन्थ्यो. त्यसैले एकजना अनुसन्धान गरि रहेको मानिसले अध्यारोमा एउटा प्रश्न गर्यो, यदी तिमि हामी यहाँ आएको रुचौदैनौ र तिमीहरु यहाबाट जाउ भन्छौ भने यो टेबलमा भएको टर्च लाइटलाइ तीन चोटी बाल्नु र निभाउनु. हामी तिम्रो कुरा बुझ्छौ. त्यहाँ एकछिन सम्म सन्नाटा छायो अनि त्यसपछि नजिककै राखेको टर्च लाइट अध्यारोमा तीन छोटी सम्म बल्ने र निभ्ने गर्यो. त्यसपछि उनीहरुले आफ्नो काम रोके र त्यो ब्यारेक बाट बाहिरिए. केहिदिन पछि उनीहरुले त्यहाँ भुत भएको रिपोर्ट सैनिक अधिकारीहरुलाई जानकारी गराए.

भूतको कथा र कहानीहरु हेर्न, सुन्न र पढ्न मलाई पनि मन पर्छ तर डर अनि यो माथिको बिश्वास भने यसको कारण होइन. बरु त्यो सबै कुरा भित्र लुकेको मानिसहरुको जटिल मनोविज्ञान बुझु हो. कसरी आफ्नो काम र स्वार्थको लागि मानिसहरुले भूतको कथाहरुलाइ जीवित राख्छन भन्ने बुझु बढी जरुरी हो र त्यो एकदमै रोचक हुने गर्छ. मैले इंडियामा हुने धेरै नै अपराधको घटनाहरुमा भूतलाई दोष दिएको तर अन्तमा त्यो सबको पछाडी कसरी मानब स्वार्थ लुकेको हुन्छ भन्ने देखेको छु. ठिक छ, कहिले काही हामी साच्चैनै भुतकै कथाहरु सुन्ने वा पढ्ने गर्छौ जसले हामीलाई एउटा अर्कै रमाइलो दुनियामा लैजान्छ. तर त्यस्तो भने एकदमै नगन्य हुन्छ. मलाइ आज सम्म पनि स्कूलमा हुँदा भूतलाई समात्दा भन्ने कथा पढेको याद आउछ. त्यो कथा पढेको दिन देखिनै अन्धविश्वासको पछाडी अज्ञानता भन्दा बढी स्वार्थ लुकेको हुन्छ भन्ने बुझे. हाम्रो समाजमा भूत र बोक्सीको कहानी जीवित रही रहनुको पछाडी हावाको कुरामा हो मा हो मिलाउने जमातको दोष मात्र होइन कि कुनै पनि कुराको राम्रो बिस्लेषण गर्न सक्ने दिमाग भएको मानिस जस्तै, शर्लक होल्म्स जस्ता जासुसको कथा अनि त्यस्तै किसिमको पात्रहरु कम लोकप्रिय हुनु पनि हो.


पुनस्च :  यो लेख जनआस्था साप्ताहिक पत्रिकामा २०७६ श्रावण २९ गते प्रकाशित भएको थियो. अनि त्यो को रेग्मी हो जसको जात मेरो नाममा पुच्छर लागेर आयो, उसलाई खोजु कि नखोजु भनेर दोधारमा छु; किनकी, मलाई आफ्नो नाममा आफ्नै जात ठिक लाग्छ. 

No comments:

Post a Comment